
काठमाडौं, ११ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रोसँग वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ । नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । योसँगै नेपालमा अब पश्चिमी वायुको असर पनि हटेको छ । यद्यपी मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन अझै समय लाग्ने विभागले जनाएको छ ।
हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, कोसी र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे