
राष्ट्रिय जनगणना २०७८ देशैभर एकै साथ सञ्चालन गरिँदैछ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचिकरण कार्य वि.सं. २०७८ साल भाद्र ३० देखि आश्विन १८ गतेसम्म (बीस दिन) र दोश्रो चरणमा मुख्य प्रश्नावलीको विस्तृत विवरण संकलन कार्य वि.सं. २०७८ साल कार्तिक २५ देखि २०७८ मंसिर ९ गतेसम्म (पन्ध्र दिन) सञ्चालन गरिँदैछ । दोश्रो चरणमानै प्रत्येक वडावाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरीय विवरण संकलन गरिंदैछ ।
जनगणना भन्नाले देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्झनु पर्छ र सो शब्दले त्यसरी सङ्कलन भएको तथ्याङ्क प्रशोधन, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई समेत जनाउँछ ।
नेपाल सरकारको मिति २०७६ श्रावण ६ गतेको राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम नेपाल सरकार, राष्ट्रिय योजना आयोग अन्तर्गतको आधिकारिक निकाय केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ सञ्चालन गर्दैछ ।
राष्ट्रिय जनगणना नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागको नेतृत्वमा सञ्चालन हुने भएतापनि सबै व्यक्ति, समुदाय तथा संस्थाको पूर्ण सहभागिता बिना यसलाई पूर्णरुपमा सफलतापूर्वक सम्पन्न गर्न सम्भव छैन । यस नाराको मुल आसय जनगणनालाई मेरो गणना हो भन्ने भावना जागृत गराई आफ्नो गणनाको सुनिश्चतता गराउने हो । तसर्थ हामी सबैले स्वःस्फुर्तरुपमा आफ्नो विवरण टिपाउने र छिमेकी, साथीभाई, नातागोताका व्यक्तिलाई पनि जनगणनामा भाग लिई सही विवरण दिन आह्वान गरी सहभागिता जनाउन सकिन्छ भनिएको हो।
अक्सर बसोबास भन्नाले व्यक्ति धेरैजसो वा प्रायगरी बस्ने ठाउँलाई बुझ्नु पर्दछ । कुनै व्यक्तिको अक्सर बसोबास निजको आफ्नै स्थायी घर भएको ठाउँ वा अस्थायी रुपमा बसोबास गरेको ठाउँ वा अन्य व्यक्तिको घरमा पनि हुनसक्दछ । राष्ट्रिय जनगणना २०७८ मा व्यक्तिको गणना अक्सर बसोबास गरेको स्थानबाट गरिन्छ । साथै कुनै व्यक्ति दुई वा सोभन्दा बढी ठाउँमा बसोबास गर्ने गरेका रहेछन् भने निज सबैभन्दा वढी समय जहाँ बस्छन् त्यही स्थानलाई अक्सर बसोबासको स्थान मानिन्छ ।
नेपालको कुन कुन क्षेत्र तथा भूभागमा के कति मानिस बसोबास गर्छन्, तिनीहरूमध्ये महिला, पुरुष, अन्य लिङ्गी, बालबालिका, काम गर्ने उमेर समूह र बृद्ध–बृद्धाको संख्या कति छ, तिनीहरूको बासस्थान र सुविधा के कस्ता छन्, मानिसहरू के कस्ता पेशा ब्यवसाय गर्छन्, रोजगारीको अवस्था कस्तो छ, विभिन्न स्थानमा कुन कुन जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू के कति संख्यामा छरिएर रहेका छन्, तिनीहरूको शिक्षा र साक्षरताको अवस्था कस्तो छ, बसाइँसराईको अवस्था कस्तो छ, जन्म तथा मृत्युको अवस्था कस्तो छ, कति मानिस शारीरिक वा मानसिकरूपमा अपाङ्गता भएका व्यक्ति छन्, कति व्यक्ति विदेश गएका छन्, जस्ता थुप्रै जनसांख्यिक, सामाजिक तथा आर्थिक गतिविधि सम्बन्धी विवरणहरू जनगणनाबाट प्राप्त हुन्छ ।
जनगणनामा संकलित सबै विवरण गोप्य रहन्छ । तपाईले दिएको विवरणको तथ्याङ्क ऐन, २०१५ र यसबमोजिम जारी भएको जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ ले व्यक्तिगत तथ्याङ्कको गोपनियताको सुनिश्चित गरेको छ। जनगणनाबाट प्राप्त तथ्याङ्कहरु व्यक्तिगतरुपमा नभई सामूहिकरुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ। अर्थात कुनै व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गर्ने जानकारीलाई प्रकाशन गरिदैन। राष्ट्रिय जनगणनामा संकलन गरिने विवरणहरू कुनै पनि कर प्रयोजन तथा अन्य कानूनी प्रमाणको रूपमा प्रयोग गर्न मिल्दैन ।तपाईले दिएको विवरण जनगणनामा खटिने सबै कर्मचारीहरुले संरक्षण र गोप्य राख्ने सपथ खाएका हुन्छन्। यस विपरित काम गरेमा निजहरुलाई प्रचलित कानुन बमोजिम कारवाही र जरिवाना गरिन्छ।
जनगणना कार्यमा स्वसाझेदारीको भावना बमोजिम विभिन्न संघसंस्थाहरूले आफ्नो कार्यालय परिसरमा केन्द्रीय तथ्याङ्क विभागले डिजाइन गरेका जनगणना ब्यानर, पोस्टर तथा स्टिकर स्वःस्फुर्त रूपमा राख्ने, केन्द्रीय तथ्याङ्क विभागले तयार गरेका प्रचार प्रसारका सामग्री वितरणमा सहयोग गर्ने, जनगणना कार्यालयहरूले अनुरोध गरेको अवस्थामा तालिम हल, कम्प्युटर, प्रोजेक्टर जस्ता सामाग्री उपलब्ध गराउने, संघसंस्थाको लेटर प्याडमा जनगणनाको नारा तथा लोगो राख्ने, जनगणनामा खटिएर आउने गणक तथा सुपरिवेक्षकहरूलार्इ सही विवरण उपलब्ध गराउनका लागि आफ्ना सदस्य एवं कर्मचारीहरूलार्इ अनुरोध गर्ने जस्ता अमूल्य सहयोग गर्न सक्दछन् ।
तथ्यांक ऐन, २०१५ तथा राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश, २०७६ बमोजिम जनगणनामा सोधिने सबै प्रश्नको अनिवार्य जवाफ दिनु सबै उत्तरदाताको दायित्व र कर्तव्य हुने उल्लेख गरिएको छ। तसर्थ जनगणनामा सोधिएका सबै प्रश्नहरुको एक एक जवाफ दिनु पर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे