
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने क्यानडाको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। चीनसँग सम्झौता गरेमा कडा कर लगाइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कार्नीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
आइतबार ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नीले क्यानडा र चीनबीच पछिल्ला वर्षमा देखिएका केही व्यापारिक समस्यालाई मात्र समाधान गर्ने प्रयास भइरहेको बताए। उनले चिनियाँ विद्युतीय सवारी साधन, कृषि तथा माछा उत्पादनजस्ता वस्तुमा देखिएका विवादलाई उदाहरणका रूपमा उल्लेख गरे। तर यसलाई स्वतन्त्र व्यापार सम्झौतासँग जोडेर हेर्न नहुने उनको भनाइ थियो।
कार्नीले क्यानडा–अमेरिका–मेक्सिको सम्झौता (CUSMA) प्रति क्यानडा प्रतिबद्ध रहेको पनि बताए। उक्त सम्झौताअनुसार तीन देशमध्ये कुनैले चीनजस्ता गैर-बजार अर्थतन्त्रसँग स्वतन्त्र व्यापार सम्झौता गर्न चाहेमा अन्य साझेदार देशलाई पहिले नै जानकारी गराउनुपर्छ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत क्यानडाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले चीनले क्यानडालाई प्रभावमा पारिरहेको दाबी गर्दै चिन्ता जनाएका छन्। ट्रम्पले क्यानडाले चीनसँग सम्झौता गरेमा क्यानेडियाली सामानमा १०० प्रतिशत कर लगाउने चेतावनी पनि दिएका छन्, यद्यपि कुन प्रकारको सम्झौता भन्ने कुरा भने स्पष्ट गरेका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे