
काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा सैनिक नेतृत्वको सरकारले सबै राजनीतिक दलहरू विघटन गरेको छ। बिहीबार जारी गरिएको एक सरकारी आदेशमार्फत देशमा क्रियाशील सम्पूर्ण राजनीतिक दलहरू खारेज गरिएको हो।
सरकारले जारी गरेको वक्तव्यमा राजनीतिक दलहरूको अत्यधिक संख्या र गतिविधिले दुरुपयोग बढाएको, नागरिकबीच विभाजन निम्त्याएको र सामाजिक एकतालाई कमजोर बनाएको निष्कर्ष निकालेको उल्लेख छ। मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार राजनीतिक दलसम्बन्धी कानुन, आर्थिक सहायता प्रणाली तथा विपक्षी दलका नेताको पदसमेत खारेज गर्ने विधेयक संक्रमणकालीन परिषद्मा पेश गरिनेछ। विघटन गरिएका दलका सम्पूर्ण सम्पत्ति राज्यको स्वामित्वमा जाने जनाइएको छ।
सन् २०२० को निर्वाचनअघि बुर्किना फासोमा १०० भन्दा बढी दर्ता भएका राजनीतिक दल थिए, जसमा १५ दल संसद्मा प्रतिनिधित्व गर्थे। तर सन् २०२२ मा कप्तान इब्राहिम त्राओरेको नेतृत्वमा सैनिक शासन स्थापना भएपछि राजनीतिक असहमति र गतिविधिमाथि कडाइ गरिएको छ। यसअघि नै राजनीतिक दललाई सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको थियो।
गृहमन्त्री एमिल जर्बोले राजनीतिक गतिविधि पूर्ण रूपमा रोक्ने निर्णय राज्य पुनर्निर्माणको प्रक्रियाको हिस्सा भएको बताएका छन्। उनका अनुसार बहुदलीय व्यवस्थामा व्यापक अव्यवस्था र दुरुपयोग देखिएपछि यस्तो कदम चालिएको हो।
त्राओरेले सन् २०२२ को सेप्टेम्बरमा नौ महिनामात्र शासन गरेका अर्का सैनिक शासक पॉल–हेन्री सान्डाओगो डामिबालाई अपदस्थ गर्दै सत्ता सम्हालेका थिए। हालै टोगोबाट डामिबालाई स्वदेश फर्काइएको पनि जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे