
काठमाडौँ, १ भाद्र । प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएर १८ घण्टाको लोडसेडिङ अन्त्य गरेको बताएका छन् ।
प्रधानमन्त्रि प्रचण्डले नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याएर इमानदारिता र मेहेनतका कारण १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका दाबी गरेका हुन् ।
प्रधानमन्त्रि प्रचण्डले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएको बताए ।
‘त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए, ‘उनले भने, ‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानजीलाई ल्याएपश्चात् हाम्रो संकल्प इमानदारिता र मेहेनतका कारण हामीले १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएका थियौँ ।’
उनले १८ घण्टासम्म लोडसेडिङसँगै प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक रहेको स्मरण गरेका छन् ।
‘त्यसवेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए । लोडसेडिङका कारण उद्योग व्यवसायको अवस्था दयनीय थियो । नागरिकको दैनिकी नराम्ररी प्रभावित थियो । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो, ‘प्रधानमन्त्रि प्रचण्डले भने ।’
उनले आफुले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्वका निर्णयहरू भएको दाबी गरेका छन् ।
प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको उनले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे