
काठमाडौं। टेली डाइरेक्ट कम्पनीले अघिल्लो आर्थिक वर्षमा साओमीका स्मार्टफोन र एसेसरिजको बिक्रीमा उल्लेखनीय वृद्धि गर्दै ५ अर्ब ६१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यसअघिको आर्थिक वर्षमा कम्पनीले ४ अर्ब ४३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो, जसले करिब २७ प्रतिशतको वृद्धिदेखि स्पष्ट हुन्छ।
रमेश कर्पअन्तर्गत सञ्चालन हुँदै आएको टेली डाइरेक्ट कम्पनीले २००९ डिसेम्बरमा स्थापना भई २०१८ सेप्टेम्बरदेखि साओमीका फोन र अन्य सामग्रीहरूको बिक्रीमा लागेको थियो। अहिले टेली डाइरेक्टले काठमाडौं उपत्यका मात्र नभएर देशका विभिन्न जिल्लामा पनि आफ्नो बजार विस्तार गर्दै नेपाली स्मार्टफोन बजारको २८ प्रतिशत हिस्सा ओगटेको छ।
कम्पनीका अध्यक्ष रोहित गुप्ताका अनुसार, टेली डाइरेक्टसँग हाल ३२ डिलरहरू छन्, जसले करिब १,३०० आउटलेटमार्फत मोबाइल बिक्री गर्दैछन्।
मोबाइल व्यापारमा आएको सुधारसँगै कम्पनीको वित्तीय स्थितिमा पनि सुधार देखिएको छ। रेटिङ एजेन्सी इन्फोमेरिक्सले टेली डाइरेक्टको २ अर्ब ५० करोड रुपैयाँको बैंकिङ कर्जालाई दीर्घकालीनमा ‘त्रिपल बी माइनस’ र अल्पकालीनमा ‘एथ्री’ रेटिङ पुनः पुष्टि गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यमदेखि न्यून जोखिममा रहेको संकेत गर्दछ।
आर्थिक रूपमा पनि कम्पनीले कर कट्टीअगावै ४.५३ प्रतिशत मार्जिन कायम गरेको छ भने सञ्चालन खर्च, ब्याज र कर कट्टीपछि पनि २.२४ प्रतिशत मार्जिन कायम गरिएको छ। कम्पनीको ब्याज सेवा क्षमता (इन्स्ट्रेस कभरेज रेसियो) ३.४७ गुणा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे