
काठमाडौँ — बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको बिपी राजमार्ग सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा–नेपालथोक सडकखण्डमा पहिरो र लेदो खसेर यातायात रोकिएको थियो।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी गाउँपालिका–८ चारसयबेँसीमा ५० मिटर डाइभर्सन बनाएपछि आज बिहानदेखि राजमार्ग सञ्चालनमा आएको हो। सुक्खा पहिरो खसिरहेकाले रोशी–१२ माम्ती क्षेत्रमा अझै केही अवरोध रहेका छन्।
यस राजमार्गको विभिन्न सडकखण्डमा ढुङ्गा र लेदोले क्षति पुर्याएको थियो। गत वर्षको असोजमा पनि आठ किलोमिटर सडक बगिसकेको थियो। कार्यालयले क्षतिग्रस्त सडकको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाएको जनाएको छ। बिपी राजमार्ग पूर्वी नेपालसँग जोड्ने मुख्य मार्ग हो र दैनिक हजारौँ सवारी आवतजावत गर्छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे