
काठमाडौँ , १४ चैत । संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि बस्ने छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२:१५ बजे सुरु हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलहरूले अवरोध गरेका कारण बुधबारको प्रतिनिधि सभा बैठक स्थगित गरी बिहीबार बिहान ११ बजेका लागि तय गरिएको थियो। यस्तै, विपक्षी दलको अवरोधकै कारण राष्ट्रियसभाको बैठक पनि बिहीबार दिउँसो १२:१५ बजे सम्म स्थगित गरिएको थियो।
आजको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्रीहरूले दिने छन्। साथै, बैंकिङ कसुर र सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत गरिनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औं वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसका साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावना रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे