
सोलोखुम्वु । सगरमाथा समिट सिजन मे २९ मा ‘क्लोज’ हुँदैछ । हाल समय मात्र ६ दिन बाँकी रहँदा, आरोहीहरु निर्णायक चरणमा छन् — कोही अहिले तेस्रो वा चौथो क्याम्पमा ‘क्यु’ मा छन् भने कोही सिधै समिट प्रयत्नमा छन् । चैतको दोस्रो सातातिरै बेसक्याम्प पुगेकाहरुमध्ये कतिपयले समिट प्रयास सुरु गरिसकेका छन् ।
म स्वयं बैशाख २७ मा बेसक्याम्प आइपुगेको हुँ, यो सिजन ‘सेमिफाइनल’ को रूपमा अनुभव गर्ने सोचसहित । छोटो अवधि प्रशिक्षणपछि म Camp 1 हुँदै हाल Camp 2 मा छु । अबको प्रश्न हो — के म Camp 3 तर्फ सिधा अघि बढूँ ? वा रोटेसनका लागि बेसक्याम्प झरूँ ? आजको साँझ शेर्पा साथीहरूसँगको छलफलपछि निर्णय टुंगोमा पुर्याउने योजना छ ।
रोटेसन के हो र किन महत्वपूर्ण ?
८००० मिटर माथिको हिमाल आरोहणमा, ६००० मिटर पार गरेपछि आरोहीलाई पुनः १५००–२००० मिटर तल फर्काएर विश्राम र उचाइमा अभ्यस्त गराउने प्रक्रियालाई ‘रोटेसन’ भनिन्छ । यसरी तल झर्दा शरीर पुनः ऊर्जा हासिल गर्छ, मानसिक तयारीसमेत हुन्छ । रोटेसनबाट फर्किएर समिट गर्ने प्रयास बढी सफल हुने देखिन्छ ।
जस्तै, मैले बैशाख २४ मा ७२०० मिटरको Camp 3 बाट फर्किएको भारतीय सैनिक टिमलाई ४४१० मिटरको दिङ्बोचेमा विश्राम गरिरहेको भेटेको थिएँ । अहिले त्यो टिम जेठ ८ गते Camp 4 पुगिसकेको छ, सम्भवत: भोलि नै उनीहरुको समिट प्रयास हुनेछ । यसरी ४०/४२ दिन किन लाग्छ भन्ने कुरा अझ प्रस्ट भएको छ ।
मेरो वर्तमान अवस्था र विकल्प
शारीरिक दृष्टिले म अहिले ‘स्टेमिना’ र आत्मबलले सशक्त छु । उच्च उचाइसँग सन्तुलन राख्दै छु — न टाउको दुख्ने समस्या छ, न जिउ गल्ने । सीमित अनुभव, आधारभूत प्रशिक्षण र मनोबल सँगसँगै छ । तथापि, आरोहण सिजन छोटिँदै गइरहेकोले भोलि, जेठ ९ गते बिहानै Camp 3 तर्फ सिधै अघि बढ्ने एक सम्भावना हो ।
तर उता, रोटेसनमार्फत बेसक्याम्प फर्कने विकल्प पनि मनोवैज्ञानिक र व्यावहारिक रूपले औचित्यपूर्ण छ । खासगरी ओर्लनुको चुनौती अझै बाँकी छ । प्रशिक्षणको क्रममा म उक्लनमा सबल ठहरिएको भए पनि अवतरणको दक्षता अपेक्षाकृत सुधार गर्न बाँकी नै छ । रोटेसनले यही पक्ष बलियो बनाउन सहयोग पुर्याउनेछ भन्ने गम्भीर सोचमा छु ।
समिट मिति किन मे २९ ?
सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसै सम्झनामा प्रत्येक वर्ष यो मितिलाई ‘अन्तर्राष्ट्रिय एभरेस्ट डे’ का रूपमा मनाइन्छ । यस दिनलाई समिटको अन्तिम समय मानेर ‘सिजन क्लोज’ गरिन्छ ।
यसको पछाडि मौसमसम्बन्धी अनुभव पनि कारण हो — जेठ १५/१६ पश्चात हिमपात र हिमपहिरोको जोखिम उच्च हुने भएकाले त्यसपछि समिट प्रयास रोक्नुपर्ने हुन्छ । आरोहीहरुको ज्यानको सुरक्षाका लागि यो सीमा निर्धारण गरिनु स्वाभाविक हो ।
अब निर्णयको घडी नजिकिएको छ — समिट सिजनको अन्तिम फड्को तर्फ सिधा अघि बढ्ने कि आत्ममूल्यांकनसहित रोटेसनमा फर्कने ? सफल आरोहण मात्र होइन, सुरक्षित अवतरण पनि लक्ष्य हो । पासाङ ल्हामुको स्मृति सम्झिँदा यो पक्ष अझ गम्भीर रूपमा महसुस हुन्छ । यसैले आजको साँझ अन्तिम छलफलपछि मात्र उपयुक्त निर्णयमा पुग्ने तयारीमा छु ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे