
काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्र बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यादेखि नै मेलामय बनेको छ। दिवङ्गत पितृको सत्गतिको कामना गर्दै मनाइने यस धार्मिक पर्वका अवसरमा भक्तजन अघिल्लो दिनदेखि नै पशुपति परिसरमा भेला हुन थालेका छन्।
पितृका नाममा बत्ती बाल्नका लागि स्थान सुरक्षित गर्न तथा श्रद्धाञ्जली अर्पण गर्न मानिसहरू समूहगत रूपमा पशुपति क्षेत्रतर्फ लागेको देखिन्छ। त्रयोदशीको बिहानदेखि नै भेला भएका भक्तजनले सोमबार साँझ विधिपूर्वक बत्ती बाल्ने तयारी गरेका छन्।
भोलि मंसिर चतुर्दशीका दिन बिहान भने पितृको सत्गतिको कामना गर्दै ‘शतबीज’ छर्ने परम्परा अनुसार श्रद्धालुहरूले कम्तीमा सात प्रकारका रैथाने बालीका बीउ छरिनेछन्। नेपालका विभिन्न शिवालय परिसरसँगै विदेशस्थित शिवालयहरूमासमेत यस अवसरमा शतबीज छर्ने प्रचलन रहेको छ।
जैविक विविधता संरक्षणसँग जोडिएको यो धार्मिक विधिले पुर्खाप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्छ। वंश परम्परा कायम गरी आजका पुस्तालाई मार्गदर्शन गर्ने पुर्खाहरू परलोकमा राम्रो अवस्थामा रहें भन्ने इच्छासहित बत्ती बाल्ने र रैथाने बीउ छर्नेसम्बन्धी परम्परा जोगाइँदै आएको आध्यात्मिक क्षेत्रका जानकारहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे