
काठमाडौं, नेपाल – अष्ट्रेलिया सरकारले प्रदान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय छात्रवृत्ति ‘अष्ट्रेलिया अवार्डस्’ अन्तर्गत नेपाली विद्यार्थीलाई स्नातकोत्तर अध्ययनका लागि अवसर प्रदान गरिने भएको छ। यस छात्रवृत्तिमा विभिन्न छोटो अवधिका तालिमहरू समेत समावेश छन्।
अष्ट्रेलिया अवार्डस् छात्रवृत्तिले अष्ट्रेलियाली विश्वविद्यालयहरूबाट अन्तर्राष्ट्रिय स्तरको स्नातकोत्तर उपाधि प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। छात्रवृत्तिअन्तर्गत अध्ययन पूरा गर्न आवश्यक सम्पूर्ण आर्थिक तथा अन्य सहयोग उपलब्ध गराइनेछ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू ‘अष्ट्रेलिया ग्लोबल एल्युम्नाइ नेटवर्क’ को हिस्सा बन्नेछन्। यसले उनीहरूलाई अष्ट्रेलिया तथा अन्य पूर्वविद्यार्थीहरूसँग निरन्तर सम्पर्कमा रहन, नेतृत्वदायी भूमिका निर्वाह गर्न, तथा अष्ट्रेलियाको उत्कृष्ट शैक्षिक प्रणाली प्रवद्र्धन गर्ने अवसर उपलब्ध गराउनेछ।
छात्रवृत्तिका लागि इच्छुक नेपाली विद्यार्थीले कम्तीमा चार वर्षको स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ। साथै, स्नातकपछि कम्तीमा तीन वर्षको पूर्णकालीन कार्यानुभव अनिवार्य गरिएको छ।
अंग्रेजी भाषाको ज्ञानका लागि IELTS मा समग्र ६.५ तथा प्रत्येक व्याण्डमा कम्तीमा ६.० अंक अनिवार्य गरिएको छ। महिला, अपाङ्गता भएका व्यक्ति, परम्परागत रूपमा पछाडि पारिएका समूहका सदस्य र सरकारी कर्मचारीहरूका लागि IELTS मा समग्र ६.० तथा प्रत्येक व्याण्डमा ५.५ अंक ल्याएमा पनि योग्य मानिनेछ। तर, अन्ततः अध्ययन गर्ने विश्वविद्यालयले तोकेको न्यूनतम स्तर पूरा गर्नुपर्नेछ।
छात्रवृत्ति अन्तर्गत स्नातकोत्तर कार्यक्रम प्रदान गरिनेछ। अध्ययन कार्यक्रम पाठ्यक्रममा आधारित (Coursework) वा अनुसन्धानमा आधारित (Research) हुनसक्नेछ। प्राथमिकता विकास क्षेत्रभित्र पर्ने विषय चयन गर्नुपर्नेछ, जसको पुनरावलोकन प्रत्येक वर्ष गरिन्छ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:
अपाङ्गता भएका विद्यार्थीहरूलाई बिना कुनै अवरोध अध्ययन गर्नका लागि आवश्यक समायोजन तथा सहयोग प्रदान गरिनेछ। विद्यार्थीका पति/पत्नी तथा १८ वर्ष मुनिका बालबालिकालाई आश्रितका रूपमा अष्ट्रेलिया लैजान सकिने सुविधा पनि उपलब्ध गराइनेछ।
छात्रवृत्तिका लागि आवेदन प्रक्रिया सामान्यतया प्रत्येक वर्षको फेब्रुअरी १ देखि अप्रिल ३० सम्म खुला गरिन्छ। फेब्रुअरी ९, २०२५ मा खोलिने आवेदन जनवरी २०२६ मा सुरु हुने अध्ययन कार्यक्रमका लागि हुनेछ। आवेदन अनलाइनमार्फत आवश्यक कागजातहरू संलग्न गरी बुझाउनुपर्नेछ।
छात्रवृत्तिका लागि आवेदन गर्ने विद्यार्थीहरूलाई शिक्षा, नेतृत्व क्षमता, तथा स्वदेशमा पुर्याउन सक्ने योगदानका आधारमा मूल्याङ्कन गरिनेछ। योग्य ठहरिएका उम्मेदवारहरूको सूची तयार पारेर अन्तर्वार्ताका लागि बोलाइनेछ। अन्तर्वार्ता सफल पार गरेका उम्मेदवारहरूको विश्वविद्यालय नामांकन, भिसा प्रक्रिया, तथा अष्ट्रेलिया जानुअघि अभिमुखीकरण कार्यक्रमको व्यवस्थापन छात्रवृत्ति कार्यालयमार्फत गरिनेछ।
छनौट प्रक्रिया अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले इच्छुक विद्यार्थीहरूलाई समयमा नै तयारी गर्न सुझाव दिइएको छ।
छात्रवृत्तिको छनौट प्रक्रिया समतामूलक बनाउन अष्ट्रेलिया सरकारले महिला, परम्परागत रूपमा पछाडि पारिएका समूह तथा अपाङ्गता भएका व्यक्तिहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने जनाएको छ। विगतमा नेपाल बाहिर अध्ययन गर्ने अवसर नपाएकाहरूलाई विशेष प्राथमिकता दिइनेछ।
अपाङ्गता भएका छात्रवृत्ति प्राप्तकर्ताहरूलाई आवश्यकताअनुसार शैक्षिक तथा गैर-शैक्षिक सहायता उपलब्ध गराइनेछ।
सम्भावित आवेदकहरूले विस्तृत जानकारीका लागि अष्ट्रेलिया अवार्डस् नेपालको कार्यालय वा वेबसाइटमार्फत सम्पर्क गर्न सक्नेछन्।
अष्ट्रेलिया अवार्डस् – नेपाल
मेघालय भवन, दोस्रो तला, कमलादी, काठमाडौं
फोन: ०१ ४००२६१४
ईमेल: [email protected]
वेबसाइट: http://australiaawardsnepal.org

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे