
काठमाण्डौ। महालेखापरीक्षकको कार्यालयले चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहसहित विभिन्न निकायको लेखापरीक्षण सम्पन्न गरिसकेको थियो। विवरणअनुसार सङ्घीय मन्त्रालय तथा निकायअन्तर्गत रहेका १ हजार २७७ निकायको विनियोजन खर्च, राजस्व, धरौटी तथा अन्य कारोबारसमेत गरी कुल रु. २४ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिसकिएको थियो। यसमध्ये विनियोजन खर्चतर्फ रु. १३ खर्ब २ अर्ब २९ करोड, राजस्वतर्फ रु. १० खर्ब २ अर्ब ८४ करोड, धरौटीतर्फ रु. ७१ अर्ब ३६ करोड तथा अन्य कारोबारतर्फ रु. ८६ अर्ब ६२ करोडको लेखापरीक्षण सम्पन्न गरिएको थियो।
प्रदेश मन्त्रालय तथा निकायतर्फ यस वर्ष सातै प्रदेशअन्तर्गतका १ हजार २७० कार्यालयको रु. ३ खर्ब २३ अर्ब ३४ करोड बराबरको लेखापरीक्षण सम्पन्न भइसकेको थियो। अघिल्लो वर्षसम्म प्रदेश मातहतका २३ एकाइको रु. १ अर्ब १२ करोड बराबरको लेखापरीक्षण बाँकी रहेकोमा, चालु वर्षमा दुई कार्यालयले रु. १२ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिसकेका थिए।
स्थानीय तहतर्फ ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७३ नगरपालिका र ४५६ गाउँपालिकासहित कुल ७४६ स्थानीय तह (अघिल्लो वर्षको बाँकी २ सहित ७४८ आर्थिक वर्ष) को रु. ११ खर्ब ३९ अर्ब १९ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिसकिएको थियो। यसैगरी, २१७ समिति तथा अन्य संस्था (प्रदेशतर्फका ११८ सहित) को रु. २ खर्ब ९६ अर्ब ८५ करोड तथा ९३ सङ्गठित संस्थाको रु. ३ खर्ब ६१ अर्ब ११ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको थियो। थप ४२ संस्थाको रु. १४ खर्ब ८८ अर्ब ५६ करोड बराबरको लेखापरीक्षण परामर्शअनुसार सम्पन्न गरिसकिएको महालेखापरीक्षकको कार्यालयले जनाएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे