
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिएका छन्।
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा सकल दर्जाका सैनिकहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले संविधानले तोकेको जिम्मेवारीअनुसार सेनाले राष्ट्रहित, सुरक्षा र स्थायित्वका लागि निर्वाह गर्दै आएको भूमिकालाई निर्वाचन अवधिमा समेत उच्च व्यावसायिकताका साथ निरन्तरता दिनुपर्ने बताए।
उनले नेपाली सेनाको गौरवमय इतिहास, परम्परा, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ मजबुत बनाउन सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन तथा अध्यापनलाई प्राथमिकताका साथ लागू गर्न निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसैबीच, कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गरेका वीर सैनिकप्रति सम्मान प्रकट गर्दै प्रधानसेनापति सिग्देलले वीर स्मारक तथा सैनिक मञ्च, टुँडिखेलमा श्रद्धासुमन अर्पण गरे। साथै, छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा उनले वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गर्दै राज्य र सेनाले उनीहरूको योगदानलाई सधैं उच्च कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे