
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको सञ्चालन र विकासको मेरुदण्ड राजस्व क्षमतामा निर्भर रहने भएकाले आन्तरिक स्रोतको दक्ष र प्रभावकारी परिचालन आर्थिक सुदृढीकरणका लागि अपरिहार्य रहेको बताएका छन्।
महासंघको सचिवालयमा राजस्व अनुसन्धान विभागको आयोजनामा तथा महासंघको समन्वयमा आयोजित “राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धी अन्तरक्रिया कार्यक्रम” मा अध्यक्ष ढकालले उद्योग तथा व्यवसायमैत्री वातावरणको आवश्यकता औंल्याएका थिए। व्यवसायीहरूले नियमनकारी निकायको अनुगमनका नाममा अनावश्यक झमेलामा पर्ने गरेका गुनासो आइरहेको भन्दै उनले सो विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए।
उनले अर्थतन्त्र चलायमान भई बजारमा मागको वृद्धि भए मात्र आर्थिक गतिविधि सशक्त हुने, उत्पादन तथा व्यवसायमा सुधार आउने र राजस्व संकलन समेत बढ्ने उल्लेख गरे।
हालै जारी अध्यादेशबाट राजस्व चुहावट ऐन, २०५२ का केही प्रावधानमा भएका संशोधनले व्यवसायिक वातावरण निर्माणमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष ढकालले मुद्धा दायर गर्ने विगोको सीमा ५० लाखबाट ३ करोड पुर्याइएको, मुद्धा दायर हुनु अघि सम्बन्धित व्यक्तिले बिगो तथा जरिवाना बुझाएमा मुद्धा नचलाउने व्यवस्था गरिएको र दायर भइसकेको मुद्धामा मिलापत्र तथा फिर्ता लिन सकिने प्रावधान समेटिएको जानकारी दिए।
कार्यक्रममा राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले वैध व्यापारलाई प्रवर्द्धन गर्दै अवैध तथा अनौपचारिक व्यापार नियन्त्रण गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले विभागको उद्देश्य व्यवसायीहरूलाई दुःख दिनु नभई नियमन र सहजीकरण रहेको स्पष्ट पार्दै नीति नियमबारे अन्यौल भए व्यवसायीलाई सहजीकरण गर्न विभाग सधैं तयार रहेको बताए।
कार्यक्रममा सहभागी व्यवसायीहरूले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो तथा प्रभावकारी बनाउन प्रविधिको गुणस्तरीय उपयोग आवश्यक रहेको भन्दै प्रविधिलाई अझ व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउन जोड दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे