
काठमाडौं, २४ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् ।
बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उनले भने, ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं ।’ तरपनि त्यसको व्यवहारतः जनताले अनुभूति गर्न भने अझै नसकेको र बीपीको विचारलाई प्रयाप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको देउवाले बताए ।
आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ ।’
सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे