
एजेन्सी। भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको भयानक विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ भने एकजना मात्र यात्रु जीवित रहेको पुष्टि भएको छ।
एअर इन्डियाले एक प्रेस विज्ञप्ति जारी गर्दै बोइङ ७८७ विमान दुर्घटनामा परेका यात्रुमध्ये ब्रिटिश नागरिक विश्वासकुमार रमेश मात्र जीवित रहेका र उनको हाल अस्पतालमा उपचार भइरहेको जनाएको छ।
घाइते रमेशलाई उपचारका लागि घटनास्थलबाट एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा उनी एम्बुलेन्सतर्फ लम्कँदै गर्दा पछाडिबाट बाक्लो धुवाँको मुस्लो देखिन्छ।
विश्वासकुमार ११ ए सिट नम्बरमा यात्रा गरिरहेका थिए। भारतमा जन्मिएका उनी सन् २००३ देखि बेलायतमा बसोबास गर्दै आएका थिए। उनको साथमा उक्त दुर्घटनामा उनकी पत्नी र चार वर्षीय छोरा पनि रहेको र उनीहरूको अवस्थाबारे हालसम्म जानकारी सार्वजनिक गरिएको छैन।
भारतका गृहमन्त्री अमित शाह आफैँ अस्पताल पुगेर घाइते रमेशको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। मन्त्री शाहले परिवारप्रति समवेदना व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिएका छन्।
सरकारी स्तरबाट दुर्घटनाको छानबिन सुरु भइसकेको र विमानमा प्राविधिक समस्या थियो वा अन्य कारणले दुर्घटना भएको हो भन्ने विषयमा विस्तृत अध्ययन भइरहेको भारतीय विमान प्राधिकरणले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे