
काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रणाली, डिजिटल सेवा र प्रभावकारी प्रशासनिक अभ्यासलाई आत्मसात गर्दै आफूलाई प्रतिस्पर्धी वाणिज्य बैंकको रूपमा स्थापित गर्दै आएको जनाएको छ।
बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात नगरी अगाडि बढ्न कठिन हुने बताएका छन्। सीईओ गुरुङले बैंकले डिजिटलाइजेशनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गर्दै आएको र नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको बताएका छन्।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप ३ खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कुल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्म निष्क्रिय कर्जा अनुपात कुल कर्जा लगानीको ४.५२ प्रतिशत रहेको बैंकले जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा बैंकले साना किसानलाई लक्षित गरी विकास गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयरको शुभारम्भ गरेको छ भने केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्र पनि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। हाल बैंकको शेयर संरचनामा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे