
काठमाडौं – नेपाल वायुसेवा निगम (राष्ट्रिय ध्वजावाहक) र जापान एयरलाइन्स (राष्ट्रिय ध्वजावाहक) बीच व्यापार विस्तारका लागि साझेदारी सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै नेपाल वायुसेवा निगमको उडानमार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्मको यात्रा सहज भएको छ भने त्यसपछिका विभिन्न गन्तव्यहरूमा जापान एयरलाइन्सको उडानमार्फत यात्रुहरू सजिलै पुग्न सक्ने भएका छन्।
सम्झौताअनुसार नेपाल वायुसेवा निगमको टिकटमार्फत यात्रुहरूलाई जापान एयरलाइन्सको जोडिने उडान सेवा उपलब्ध हुनेछ। यसले यात्रु तथा लगेज जाँच–प्रक्रियालाई थप सरल बनाउने अपेक्षा गरिएको छ। साथै, उक्त सम्झौताबाट नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूलाई थप सहजता प्रदान गरिनेछ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीको विशेष निर्देशन र बजार व्यवस्थापन विभागको पहलमा लामो समयदेखिको समन्वय र वार्तापछि उक्त सम्झौता सम्पन्न भएको हो। सोही सम्झौतासँगै निगमसँग यात्रु अन्तररेखा साझेदारी सम्झौता गर्ने वायुसेवाहरूको संख्या पच्चीस पुगेको छ भने कार्गो अन्तररेखा साझेदारी सम्झौता गर्ने वायुसेवाहरूको संख्या अठ्ठाइस पुगेको छ।
सम्झौतापछि नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यावसायिक सहकार्य थप बलियो भएको छ। यात्रुहरूलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उक्त सम्झौताबाट जापानका विभिन्न गन्तव्यमा सहज पहुँचको अवसर प्राप्त हुने विश्वास गरिएको छ। साथै, जापानी पर्यटकहरूलाई नेपाल भ्रमणका लागि आकर्षक यात्रा प्याकेजहरू उपलब्ध गराउन समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।
निगमको विमान संख्या वृद्धिसँगै आगामी दिनहरूमा अन्तर्राष्ट्रिय संजाल विस्तार गर्दै जाने रणनीति अपनाइने जनाइएको छ। यस प्रकारका साझेदारीहरूले नेपाल र जापानबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे