
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि निर्माण व्यवसायी महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ। महासंघका पदाधिकारीहरूका अनुसार वार्ता सकारात्मक रहेकाले आन्दोलनलाई रोक्ने निर्णय गरिएको हो।
माघ १६ गते प्रधानमन्त्री ओली र महासंघका प्रतिनिधिमण्डलबीच भएको छलफलपछि महासंघका मागहरू सम्बोधन गर्न एक कार्यदल गठन गर्ने निर्णय गरिएको थियो। प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिइसकेपछि महासंघले आन्दोलन स्थगित गर्ने घोषणा गरेको महासचिव रोशन दाहालले जानकारी दिएका छन्।
निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न समस्याहरूको समाधानका लागि महासंघले पुस २७ गते आयोजित राष्ट्रिय भेलामार्फत १४ बुँदे मागसहित आन्दोलनमा जाने निर्णय गरेको थियो।
यसै क्रममा, माघ १५ गतेको अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरूलाई तथा जिल्ला व्यवसायी संघहरूले प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाइसकेको महासंघले जनाएको छ।
त्यसैगरी, केन्द्रका तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेताहरू, तथा विभिन्न संसदीय समितिका सभापतिहरूसमक्ष ज्ञापन पत्र पेश गर्ने कार्य सम्पन्न भइसकेको छ। महासंघले माग सम्बोधनका लागि सरकार सकारात्मक देखिएको बताउँदै तत्कालका लागि आन्दोलन रोक्ने निर्णय गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे