
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सहमति भएकोमा खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यसलाई नयाँ सुरुवातको रूपमा व्याख्या गरेका छन्। खरेलले लेखेका छन्, “नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना एक गन्तव्यतर्फ अघि बढ्दैछ।”
यसैबीच, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि रवि लामिछाने र बालेन शाहबीचको सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन्। उनका अनुसार दुई नेताबीचको मिलनले राजनीतिमा आपसी विश्वास, जिम्मेवारी र सहकार्यको महत्व देखाएको छ।
उता, नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने यस विषयमा व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले रवि र बालेन मिलेपछि अब उज्यालो नेपालका कुलमान घिसिङ र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल पनि मिल्न बाँकी रहेको बताएका छन्। बास्कोटाको यो टिप्पणी सामाजिक सञ्जालमा चर्चा भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे