
काठमाडौँ — चुनावी प्रचारका क्रममा प्रयोग भएको गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग र राहतका लागि पहल भइरहेको जनाइएको छ। घटनाको निष्पक्ष छानबिनका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने र कानुनी प्रक्रिया अनुसार न्याय दिलाउन पार्टी प्रतिबद्ध रहेको रास्वपाले स्पष्ट पारेको छ।
साथै, चुनावी अभियानमा प्रयोग हुने सवारीसाधन चलाउँदा अझ बढी सतर्कता अपनाउन उम्मेदवार, कार्यकर्ता र चालकलाई पार्टीले निर्देशन दिएको छ। रौतहट क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार शेख सगिरको प्रचारमा प्रयोग गरिएको कारले ठक्कर दिँदा ईशनाथ नगरपालिका–४ की चार वर्षीया अल्फा खातुनको मृत्यु भएको थियो। गम्भीर घाइते बालिकालाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे