
काठमार्डौँ, ८ पुस । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । फ्रान्सेली नागरिक चार्ल्स १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका हुन् ।
दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।
भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते २० वर्षको कैद सजाय सुनाइएको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो।
शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।जेलबाट छुटेका शोभराजलाई अध्यागमन विभागमा पुर्याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको हो ।
अध्यागमन विभागका अनुसार शोभराजलाई अब कहिल्यै नेपाल फर्किन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भइरहेको छ।
उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा राखिनेछ । र आवश्यक प्रक्रिया पुर्याई उनलाई उनकै देश फ्रान्स पठाइनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे