
काठमाडौँ । कैलाली र कञ्चनपुरका केही स्थानमा पालिएका बंगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग देखिएको पुष्टि भएको छ। पछिल्लो समय व्यावसायिक रूपमा पालिएका बंगुरमा अचानक ज्वरो आउने, शरीरमा रातो र नीलो दाग देखिने र एकाएक मर्न थालेपछि जाँच गर्दा यो रोग लागेको पत्ता लागेको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली परिचालन गरी स्थानीय स्तरबाट नमूना संकलन गरेर परीक्षण गरेको थियो। यो रोग भाइरसका कारण लाग्ने अत्यन्तै सङ्क्रामक र खतरनाक मानिन्छ। यसले घरपालुवा सुँगुर, बंगुर र जंगली बँदेललाई असर गर्छ र लागेमा धेरैजसो बंगुर मर्ने जोखिम हुन्छ।
रोग लागेका बंगुर दानापानी खान छोड्ने, झोक्राएर बस्ने, छट्पटाउने र एकै ठाउँमा जम्मा भएर बस्ने जस्ता लक्षण देखिन्छन्। विशेषगरी कान, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो दाग देखिनु मुख्य चिन्ह हो।
वरिष्ठ पशु चिकित्सक जोशीले यस्तो लक्षण देखिए वा बंगुर मर्न थालेमा नलुकाई तुरुन्त नजिकको पशु सेवा कार्यालय, भेटेरिनरी अस्पताल वा प्रयोगशालामा जानकारी दिन अनुरोध गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे