एड्भान्सड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको नियमित जर्नलको सातौँ अङ्क लोकार्पण गरिएको छ । कलेजको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीचमा समारोहका प्रमुख अतिथिका रूपमा उपस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सुनीलबाबु श्रेष्ठ र एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले संयुक्त रूपमा उक्त जर्नलको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले विद्यार्थीहरूको नवप्रवर्तनकारी विचार र धारणालाई सम्मान गर्दै जर्नल प्रकाशन गरेकामा कलेज व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गरे ।
अनुसन्धानमुखी जर्नलहरूमा ध्यान केन्द्रित गर्दै इन्जिनियरिङ विषय अध्ययन गर्ने क्रममा प्रयोगात्मक शिक्षाको निष्कर्ष प्राप्तिका लागि विद्यार्थीहरूलाई एड्भान्स्ड कलेज एक उत्कृष्ट फोरम भएको उनको धारणा थियो । कलेजद्वारा प्रकाशित जर्नलको महत्त्वबारे प्रकाश पार्दै जर्नलका प्रधानसम्पादक इन्जिनियर लक्ष्मीभक्त महर्जनले अनुसन्धनात्मक लेखहरूको अध्ययनबाट वर्तमान र भावी पुस्ताका विद्यार्थीहरूको सिकाइलाई थप सुदृढ पार्ने बताए । जर्नलको अध्ययनबाट विद्यार्थीहरूले आफ्नो ज्ञान र सीपको क्षितिजलाई बढाउँदै वास्तविक जीवनसँग जोड्न सक्ने उनको धारणा थियो ।
यस्ता अनुसन्धानात्मक जर्नलमा प्रकाशित लेखहरूको पुनरावृत्तिमूलक अध्ययनबाट सङ्काय र विद्यार्थीहरूलाई समस्याहरूको तर्कसङ्गत समाधान खोज्ने सीपको विकासमा सहयोग पुग्ने कुरा पनि प्रधानसम्पादक महर्जनले बताए । वर्तमान सन्दर्भमा जर्नलको अपरिहार्यतालाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिँदै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उपकुलपति सुनीलबाबु श्रेष्ठले एड्भान्स्ड कलेजका अध्यापकहरूले अनुसन्धानमूलक शिक्षणमार्फत विद्यार्थीहरूलाई व्यावसायिक भविष्यतर्फ उत्प्रेरित गरिरहेको बताए । आफ्नो ज्ञान र अनुभवलाई निखार्ने कार्यमा यस्ता जर्नलजस्ता छापा प्रकाशनहरूले सघाउ पु¥याउने उनको धारणा थियो ।
जर्नलको महत्त्वमाथि प्रकाश पार्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले वर्तमान समयमा ज्ञान फैलाउने प्रभावकारी माध्यमका रूपमा शोधपत्रिकाको टड्कारो आवश्यकता रहको बताए । विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्दै एड्भान्स्ड कलेज यस्ता सामग्रीहरूमार्फत ज्ञान हस्तान्तरण गर्ने कार्यलाई प्रवद्र्धन गर्न सफल भएको पनि उनको धारणा थियो ।
समारोहमा उपस्थित अतिथिगणलाई धन्यवाद ज्ञापन गर्दै एड्भान्सड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका प्राचार्य इन्जिनियर लोचनलाल अमात्यले कलेजका सङ्काय र विद्यार्थीहरूको भविष्यलाई निश्चित आकार दिनु संस्थाको दायित्व भएकाले अध्ययन–अनुसन्धानका क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्तिका लागि जर्नल प्रकाशनलाई प्रोत्साहित गरिएको बताए । समारोहका अन्त्यमा उपस्थित अतिथिहरूलाई संस्थाका तर्फबाट मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे