
काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज नेपालका लागि एसियाली विकास बैंक (एडिबी)को आगामी पाँचवर्षे राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन्। एडिबीको सञ्चालक समितिबाट २०८१ असार ३ गते (तदनुसार १७ जुन २०२५) स्वीकृत उक्त रणनीतिले नेपालको समावेशी आर्थिक विकासलाई तीव्र गति दिने गरी मार्गचित्र प्रस्तुत गरेको छ।
उक्त रणनीति निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने, युवाका लागि गुणस्तरीय रोजगारी सिर्जना गर्ने, वातावरणीय दिगोपनाका साथ जलवायु र विपद्मा उत्थानशीलता प्रवर्द्धन गर्ने लक्ष्यमा केन्द्रित रहेको छ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा, र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले संयुक्त रूपमा रणनीति सार्वजनिक गरे। यसपटक एडिबीले पहिलोपटक विश्व बैंक समूहसँग सहकार्य गर्दै संयुक्त साझेदारी फ्रेमवर्क तयार पारेको हो, जसलाई ‘सहकार्यमा आधारित विकास योजनाको कोसेढुंगा’का रूपमा लिइएको छ।
विशेष मन्तव्य दिँदै उपप्रधानमन्त्री पौडेलले भने, “एडिबीको नयाँ रणनीति सार्वजनिक भएसँगै हाम्रो साझेदारीको ६ दशक लामो यात्रामा नयाँ अध्याय सुरु भएको छ। यो रणनीतिले समावेशी वृद्धि, जलवायु उत्थानशीलता र विशेषतः युवाका लागि रोजगारी सृजनामा सहयोग गर्नेछ। आर्थिक रूपान्तरणको यात्रामा एडिबीको योगदानप्रति हामी आभारी छौं।”
रणनीतिमा डिजिटल रूपान्तरण, सुशासन, संघीय प्रणालीका लागि क्षमता अभिवृद्धि, महिला र बञ्चित समूहको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकतालाई समावेश गरिएको छ। यसले समतामूलक र समावेशी विकास सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा एडिबीका प्रमुख अर्थशास्त्री इयान ह्यानसन र कार्यक्रम अधिकृत सृजना राजभण्डारीले रणनीतिका मुख्य प्राथमिकता र परियोजनाहरू प्रस्तुत गरे। साथै, कार्यक्रमको क्रममा सार्वजनिक गरिएको श्रव्यदृश्य सामाग्रीमा रणनीति निर्माणको प्रक्रियामा सातवटै प्रदेश र संघीय निकायहरूसँग गरिएका परामर्शहरूसमेत समेटिएको थियो।
सार्वजनिक कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, अनुसन्धान क्षेत्र र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तमा प्यानल छलफल र अन्तर्क्रियात्मक सत्रसहित कार्यक्रम समापन गरिएको थियो।
एसियाली विकास बैंक (ADB) एसिया प्रशान्त क्षेत्रको एक प्रमुख बहुपक्षीय विकास बैंक हो, जसले समावेशी र उत्थानशील विकासका लागि सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै गुणस्तरीय पूर्वाधार निर्माण, नवप्रवर्तनशील वित्तीय औजार र वातावरणीय संरक्षणलाई प्रोत्साहन गर्दै आएको छ। सन् १९६६ मा स्थापना भएको एडिबीमा हाल ६९ सदस्य राष्ट्र छन्, जसमा ५० एसिया तथा प्रशान्त क्षेत्रमा अवस्थित छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे