
काठमाडौं ।सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर एकैदिन झण्डै २२ अर्ब रुपैयाँ खर्च गरेको छ। असार २५ गते मात्रै २१ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी गर्दै सरकारले विकास निर्माणका लागि विनियोजन गरेको पुँजीगत बजेटको खर्चमा तीव्रता देखाएको हो।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँमध्ये असार २५ सम्ममा कुल २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भइसकेको छ। यो रकम कुल पुँजीगत बजेटको ५९.१३ प्रतिशत हो।
सरकारी खाता रोक्का हुने अन्तिम दिन परेको असार २५ मा मात्र विकास निर्माणका लागि करिब २२ अर्ब रुपैयाँ खर्च गरिएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्था अनुसार आर्थिक वर्ष सकिन एक साताअघि सरकारी खाता रोक्का हुने भएकाले अन्तिम समयमा खर्चमा तीव्रता आएको हो।
गत वर्ष असार २५ मा सरकारले १४ अर्ब ४० करोड रुपैयाँ खर्च गरेको थियो। त्यसअघि २०८० सालमा असार २४ गते एकैदिन १९ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको थियो भने २०७९ सालको असार २५ मा १४ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको तथ्यांक छ। यस वर्ष एकैदिन खर्च गरिएको पुँजीगत बजेट अहिलेसम्मकै उच्च हो।
महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सञ्चालन हुने सरकारी खाता असार २५ को मध्यरातिदेखि एक साता रोक्का गरिएको छ। अत्यावश्यक भुक्तानी बाहेकका सबै सरकारी भुक्तानी बन्द गरिने छ। नयाँ चेक जारी भए पनि तिनीहरू चालु आर्थिक वर्षका लागि मान्य नहुने स्पष्ट गरिएको छ।
सरकारले चालु आवको असार २५ सम्ममा १० खर्ब ९७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। अन्य आयसमेत जोड्दा कुल आम्दानी ११ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। यता कुल सरकारी खर्च १५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।
यो तथ्यांक अनुसार चालु आर्थिक वर्षको बजेट घाटा ३ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। सरकारको आम्दानीभन्दा खर्च बढी भएका कारण बजेट घाटा बढेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे