
काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी तथा पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यो वर्ष सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको भन्दै सोहीअनुसार सरकार आवश्यक तयारीमा लागेको बताए।
मन्त्री खड्काले बाढीपहिरोको सम्भावनाबारे कम्तीमा वडा तहसम्म कार्यरत जनप्रतिनिधिलाई समयमै सूचना दिन सकिएमा ठूलो क्षति टार्न सकिने उल्लेख गरे। “सरकार त्यसैअनुसार सूचना सम्प्रेषण प्रणालीलाई बलियो बनाउने काममा जुटिरहेको छ,” मन्त्री खड्काले भने, “जनप्रतिनिधि र सरोकारवाला निकाय समयमै जिम्मेवार भएमा विपद् न्यूनीकरणमा ठुलो सहयोग पुग्नेछ।”
उनले जल तथा मौसम विज्ञान विभागमार्फत मौसमसम्बन्धी सूचनाको थप विश्लेषण र प्रयोग गरी योजनाबद्ध ढंगमा अघि बढ्नुपर्ने धारणा राखे। पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोगबाट जोखिम न्यून गर्ने सरकारको दीर्घकालीन रणनीति रहेको उनको भनाइ थियो।
त्यसैगरी, मन्त्री खड्काले विद्युत् विधेयकलाई प्रभावकारी र समृद्ध बनाउन मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी समेत बैठकमा प्रस्तुत गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे