
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको खरिद–बिक्री कारोबार, कमिसन तथा विनिमय दर प्रकाशनसम्बन्धी व्यवस्था स्पष्ट गर्दै एकीकृत इ.प्रा. परिपत्र–२०८२ जारी गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ बमोजिम जारी परिपत्र बैंकिङ विभाग, प्रदेशस्थित कार्यालयहरू, “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, मनिचेञ्जर र होटलहरूमा लागू हुने जनाइएको छ।
परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरूले परिवर्त्य विदेशी मुद्राको विनिमय दर स्वयम् निर्धारण गर्न सक्नेछन् भने भारतीय रुपैयाँको दर भने राष्ट्र बैंकले तोकेअनुसार कायम गर्नुपर्नेछ। परिवर्त्य विदेशी मुद्राको खरिद–बिक्री, अन्तरबैंक कारोबार तथा कर्जा सापटसम्बन्धी कार्यहरू स्वनिर्धारित दरमा गर्न सकिने व्यवस्था गरिएको छ। विदेशी मुद्राको दरमा हुने उतारचढावबाट हुने लाभ–हानि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै वहन गर्नुपर्नेछ भने भारतीय रुपैयाँको हकमा भने प्रचलित व्यवस्थाअनुसार मिलान गरिनेछ।
नगद विदेशी मुद्रा कारोबारमा ५० वा सोभन्दा माथिका दरका नोट खरिद गर्दा कुनै शुल्क वा कमिसन लिन नपाइने तथा सोभन्दा कम दरका नोटमा अधिकतम शून्य दशमलव पाँच प्रतिशतसम्म सेवा शुल्क लिन पाइने व्यवस्था गरिएको छ। बिक्री गर्दा भने कुनै पनि प्रकारको कमिसन वा शुल्क लिन नपाइने स्पष्ट पारिएको छ। मनिचेञ्जरहरूले बैंकले निर्धारण गरेको दरभन्दा निश्चित प्रतिशतसम्म घटाएर खरिद दर कायम गर्न सक्नेछन् भने भारतीय रुपैयाँ बिक्री गर्दा सीमित सेवा शुल्क लिन पाइने व्यवस्था गरिएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय विमानस्थल परिसरका मनिचेञ्जरहरूलाई विशेष प्रावधानसहित विनिमय दरमा थप लचकता दिइएको छ। मनिचेञ्जर तथा बैंकहरूले मौज्दात विदेशी मुद्रा राष्ट्र बैंकमार्फत सटही गर्न सक्ने व्यवस्था मिलाइएको छ भने ५० भन्दा कम दरका नोटमा सेवा शुल्क लाग्नेछ। विदेशबाट प्राप्त आम्दानीलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहनस्वरूप अतिरिक्त प्रोत्साहन रकमसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
परिपत्रमा इजाजतपत्रप्राप्त होटलहरूले आफ्ना ग्राहकसँग विदेशी मुद्रा खरिद गर्दा बैंकले निर्धारण गरेको दरभन्दा बढीमा दुई प्रतिशतसम्म कम दर कायम गर्न सक्ने तथा ग्राहकलाई सीमित परिमाणसम्म सटही सुविधा उपलब्ध गराउन सक्ने उल्लेख गरिएको छ। यसरी गरिएको कारोबारको अभिलेख राखी तोकिएको समयभित्र सम्बन्धित विभागमा विवरण पेश गर्नुपर्ने प्रावधान पनि राखिएको छ।
राष्ट्र बैंकले रोजगारीका लागि विदेश जाने नेपालीको आर्जन भित्र्याउने निकायलाई थप प्रोत्साहन दिने व्यवस्था गरेको छ। यस विभागबाट इजाजतपत्र लिएका निकायले राष्ट्र बैंकको बैंकिङ विभागको एजेन्सी खातामा परिवर्त्य विदेशी मुद्रा जम्मा गरेमा प्रचलित खरिद दरका अतिरिक्त प्रति अमेरिकी डलर १५ पैसाका दरले इ.प्रा.कमिसन प्रदान गरिनेछ।
इजाजतपत्रप्राप्त होटलहरूले आफ्ना ग्राहकसँग सेवा भुक्तानी प्रयोजनका लागि नगद परिवर्त्य विदेशी मुद्रा खरिद गर्दा आफ्नो खाता रहेको बैंक÷वित्तीय संस्थाले निर्धारण गरेको विनिमय दरमा बढीमा २ प्रतिशतसम्म कम गरी खरिद दर कायम गर्न सक्नेछन्। होटलले प्रति ग्राहक अधिकतम एक हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा एक बसाइ अवधिमा एकै पटक वा पटक–पटक गरी सटही प्रदान गर्न सक्नेछन्। यसरी सटही गर्दा विदेशी मुद्रा सटही रसिद (इन्क्यासमेन्ट फरम) जारी गर्नुपर्ने र त्यसको मासिक विवरण महिना समाप्त भएको १५ दिनभित्र विभागमा पेस गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे