
काठमाडौँ। नेपाल डेभलपमेन्ट सोसाइटी (नेड्स) ले आफ्नो १२औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारण सभामा संस्थाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले सहभागिता जनाउँदै विगतका कार्यक्रमको समीक्षा गरेका थिए र आगामी कार्ययोजनाबारे छलफल गरेका थिए।
सभामा डा. निशा राना (अध्यक्ष), डा. राजश्री थापा (उपाध्यक्ष), श्री रामकृष्ण दाहाल (सचिव), श्री हरिकृष्ण भट्टराई (कोषाध्यक्ष), डा. बिशोक्सन काफ्ले, डा. तारा बल्लभ अधिकारी, सुश्री सोनी बस्सी र महन्त बाबु महर्जन (कार्यकारी सदस्य) लगायतका पदाधिकारी उपस्थित थिए। उनीहरूले कार्यक्रममा आफ्नो पक्षबाट विचार व्यक्त गर्दै संस्थाको आगामी योजनामा सदस्य र समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याए।
सभाले सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा नेड्सले हासिल गरेका उपलब्धिहरूको मूल्यांकन गर्दै प्रमाणमा आधारित कार्यक्रममार्फत स्वस्थ, सक्षम र दिगो समाज निर्माण गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। साथै, आगामी वर्षका लागि संस्थाको रणनीतिक दिशा र प्राथमिकताबारे गहन विचार–विमर्श गरिएको थियो।
नेड्सले आफ्ना सदस्य, साझेदार तथा सहयोगीहरूको निरन्तर विश्वास र योगदानप्रति आभार व्यक्त गर्दै उनीहरूको सहयोगले संस्थाको अभियान थप सशक्त भएको उल्लेख गरेको छ। संस्थाले देशभर प्रभावकारी विकास गतिविधि विस्तार गर्दै स्वस्थ समुदाय निर्माणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे