
काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ। बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो।
अघिल्लो वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा चालु वर्षको समीक्षा अवधिमा बैंकको नाफा २२ दशमलव ३४ प्रतिशतले बढेको देखिन्छ। यससँगै बैंकको सञ्चालन मुनाफा पनि वृद्धि भई ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४६ करोड ९१ लाख रुपैयाँको तुलनामा २० दशमलव ९१ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा चालु वर्षमा ११ दशमलव १८ प्रतिशतको वृद्धि भएको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ कायम भएको छ, जसअनुसार बैंकले १५ दशमलव ३२ प्रतिशत लाभांश क्षमता बनाएको छ।
चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ २९ करोड ५७ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङ ५८ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको निक्षेप ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ र कर्जा लगानी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा निक्षेपसँगै कर्जा लगानीमा समेत निरन्तर वृद्धि देखिएको छ।
समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी २० दशमलव ४३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १८ दशमलव ३७ रुपैयाँभन्दा बढी हो। बैंकको मूल्य आम्दानी अनुपात २२ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ दशमलव ०७ रुपैयाँ कायम भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे