
एजेन्सी । अमेरिकाले इरानमा बढ्दो अशान्तिका बीच आफ्ना नागरिकलाई तुरुन्तै इरान छोड्न आग्रह गरेको छ। इरानका लागि अमेरिकी भर्चुअल दूतावासले सोमबार यात्रा चेतावनी अद्यावधिक गर्दै सुरक्षाको अवस्था गम्भीर बन्दै गएको जनाएको हो।
चेतावनीमा इन्टरनेट बन्द हुन सक्ने भएकाले वैकल्पिक सञ्चारको तयारी गर्न अमेरिकी नागरिकलाई भनिएको छ। यदि सम्भव र सुरक्षित भए इरानबाट जमिनमार्ग हुँदै आर्मेनिया वा टर्की जान पनि सुझाव दिइएको छ। इरानी सरकारले दोहोरो नागरिकता मान्यता नदिने भएकाले अमेरिकी–इरानी दोहोरो नागरिकता भएकाहरूले इरानी राहदानी प्रयोग गरेर मात्र इरान छोड्नुपर्ने उल्लेख गरिएको छ।
अमेरिकी नागरिकहरू इरानमा सोधपुछ, पक्राउ र हिरासतमा पर्ने उच्च जोखिममा रहेको पनि चेतावनीमा भनिएको छ। उता, धेरै एयरलाइन्सले इरान जाने र फर्कने उडान सीमित वा रद्द गरिरहेका छन्। शुक्रबारसम्म धेरै उडान सेवा निलम्बन गरिएको जनाइएको छ।
अमेरिकी विदेश विभागले इरानलाई लामो समयदेखि ‘स्तर ४: यात्रा नगर्नुहोस्’ सूचीमा राख्दै आएको छ। विभागले कुनै पनि कारणले इरान नजान र त्यहाँ रहेका अमेरिकी नागरिकलाई तुरुन्तै सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै आएको छ।
यसैबीच, ह्वाइट हाउसले इरानसँगको सम्बन्धमा कूटनीतिलाई प्राथमिकता दिइने बताएको छ। तर आवश्यक परे सैन्य विकल्प पनि खुला रहने संकेत गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा कदम चाल्ने सम्भावनाबारे विचार भइरहेको बताएका छन्। हाल इरानमा अमेरिकी दूतावास छैन, र स्विस दूतावासले सीमित रूपमा अमेरिकी हितको प्रतिनिधित्व गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे