
एजेन्सी — लिबियाली सेनाका प्रमुख मोहम्मद अली अहमद अल-हद्दादको टर्कीको राजधानी अंकारा नजिकै भएको विमान दुर्घटनामा मृत्यु भएको छ। उनी सवार निजी जेट विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो। मंगलबार भएको दुर्घटनामा विमानमा रहेका सबै यात्रुको ज्यान गएको टर्कीका अधिकारीहरूले पुष्टि गरेका छन्।
दुर्घटनामा अल-हद्दादसहित चार जना उच्च पदस्थ लिबियाली सैन्य अधिकारी र तीन जना चालक दलका सदस्यको मृत्यु भएको छ। टर्कीका अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानले तोडफोडको सम्भावना अस्वीकार गरेको छ र प्राविधिक खराबीका कारण दुर्घटना भएको संकेत गरेको छ।
लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेबाहले फेसबुकमार्फत अल-हद्दादको मृत्युको पुष्टि गर्दै प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा “दुःखद दुर्घटना” भएको बताएका छन्। उनले यसलाई राष्ट्र, सैन्य प्रतिष्ठान र जनताका लागि ठूलो क्षति भएको उल्लेख गरेका छन्।
अल-हद्दाद पश्चिमी लिबियाका शीर्ष सैन्य कमाण्डर थिए र सन् २०११ पछि विभाजित देशलाई एकताबद्ध गर्ने संयुक्त राष्ट्रसंघको प्रयासमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे