
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशमा खटिएका करिब ३० जना राजदूतलाई पदबाट हटाउँदै स्वदेश फिर्ता बोलाएका छन्। फिर्ता बोलाइएका सबै राजदूत पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए र ट्रम्पको दोस्रो कार्यकालमा पनि निरन्तर सेवामा थिए।
ट्रम्प प्रशासनको यो कदमलाई अमेरिकी विदेश नीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। ‘अमेरिका फर्स्ट’ नीतिलाई पूर्ण रूपमा समर्थन गर्ने कूटनीतिक नेतृत्व अघि सार्ने उद्देश्यले राजदूत तथा अन्य वरिष्ठ दूतावास पदहरूमा नयाँ नियुक्ति गर्न खोजिएको विश्लेषण गरिएको छ।
विदेश विभागका दुई अधिकारीले नाम नछाप्ने सर्तमा दिएको जानकारीअनुसार गत हप्ता कम्तीमा २९ देशमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने सूचना दिइएको हो। उनीहरूको सेवा आगामी जनवरीमा समाप्त हुने बताइएको छ। ती राजदूतहरूले गत बुधबारदेखि वाशिङ्टनस्थित अधिकारीहरूबाट औपचारिक नोटिस प्राप्त गर्न थालेका थिए। सामान्यतया अमेरिकी राजदूतहरू तीनदेखि चार वर्षसम्म पदमा रहने प्रचलन भए पनि यसपटक बाइडेन प्रशासनमा नियुक्त अधिकांश राजदूतहरूलाई समयअगावै फिर्ता बोलाइएको हो।
यसरी फिर्ता बोलाइएका देशहरूमा नेपालसहित अल्जेरिया, बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, कोट डी’आइवर, इजिप्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्शल टापुहरू, पपुवा न्यु गिनी, फिलिपिन्स, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकिया, ग्वाटेमाला र सुरिनाम रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे