
काठमाडौं, भदौ ४ – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि आज बिहान जनसुनुवाइको क्रममा आक्रमण भएको छ। राजधानी दिल्लीस्थित उनको निवासमै आयोजित सार्वजनिक कार्यक्रममा एक ४० वर्षीय व्यक्ति उनीमाथि अचानक हमला गरेका हुन्। प्रहरीका अनुसार आक्रमणकारीको नाम राजेश सक्रीया हो, जो गुजरातको राजकोटका हुन्। सुरक्षाकर्मीहरूले उनलाई तुरुन्त नियन्त्रणमा लिएर अनुसन्धान थालेका छन्।
राजेशकी आमाले बताएअनुसार, उनी आवारा कुकुरप्रति निकै भावुक छन् र दिल्ली–एनसीआरमा कुकुर व्यवस्थापनबारे सर्वोच्च अदालतले दिएको हालैको निर्णयबाट उनी असन्तुष्ट थिए। प्राप्त विवरणअनुसार, राजेश भाजपाका सक्रिय कार्यकर्ता पनि हुन्। उनले मुख्यमन्त्री गुप्तालाई थप्पड प्रहार गरेको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।
घटनापछि दिल्ली प्रहरीका उच्च अधिकारीहरू र भाजपा नेताहरू मुख्यमन्त्री निवासमा पुगेका छन् र सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्यमन्त्री रेखा गुप्ता सन् २०२५ फेब्रुअरी २० मा भारतीय जनता पार्टी (भाजपा) बाट दिल्लीको मुख्यमन्त्री बनेकी हुन्। यो घटना सार्वजनिक कार्यक्रममा भएको हुँदा व्यापक चासो र आलोचना सुरु भएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे