
एजेन्सी । भारतको तेलङ्गाना राज्यको संगारेड्डी जिल्लास्थित पसामिलाराम औद्योगिक क्षेत्रभित्र सोमबार बिहान एक रसायनिक कारखानामा भएको विस्फोटपछि लागेको भीषण आगलागीमा परी ४२ जनाको मृत्यु भएको छ। दर्जनौँ घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। जिल्ला प्रशासनले यस दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ। यसबाहेक ५७ जना सुरक्षित छन्। घटनाको समयमा कारखानामा करिब ९० जना कर्मचारी थिए।
प्रारम्भिक जानकारी अनुसार, रिएक्टरमा प्राविधिक गडबडी भएर अचानक विस्फोट भएको बताइएको छ। विस्फोटपछि आगो तीव्र गतिमा फैलिएर सम्पूर्ण प्लान्टमा फैलिएको थियो। अग्निनियन्त्रण टोलीले आगो नियन्त्रणमा लिन घण्टौँ प्रयास गरेको थियो।घटनास्थलमा उद्धार कार्य जारी छ।
मृतकमध्ये अधिकांश मजदुरहरू रहेको जनाइएको छ, जसले बिहानको सिफ्टमा काम गरिरहेका थिए। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारणबारे विस्तृत छानबिन भइरहेको तेलङ्गाना प्रहरीले जनाएको छ।
राज्य सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेहरूको उपचार खर्च व्यहोर्ने घोषणा गरेको छ। तेलङ्गानाका मुख्यमन्त्रीले घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दै कारखानामा सुरक्षाका उपाय पर्याप्त थिए वा थिएनन् भन्नेबारे छानबिन गर्न निर्देशन दिएका छन्।
यो घटना औद्योगिक क्षेत्रमा सुरक्षा सतर्कता कति कमजोर छ भन्ने प्रश्न फेरि उठाएको छ। स्थानीय बासिन्दाहरूले जोखिमयुक्त उद्योगहरू नजिक बस्ती हुनु चिन्ताको विषय भएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे