
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न संकाय र तहमा अध्ययन पूरा गरी उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको त्रिविको वार्षिक साधारणसभाले रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ का लागि त्रिविको बजेट तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको छ। कुलपति ओलीले त्रिविलाई २१औँ शताब्दीको माग र आवश्यकता अनुरूप प्रतिस्पर्धी, सक्षम र प्रभावकारी शिक्षण संस्था बनाउन आवश्यक रहेको धारणा राखे। उनले त्रिविको गुणस्तरीय सुधारका लागि दीर्घकालीन रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्प पूरा गर्न शिक्षाको क्षेत्रले विशेष भूमिका खेल्ने उल्लेख गर्दै त्रिविले त्यसअनुसार आफ्ना योजना र कार्यक्रम अघि बढाउनुपर्ने बताए।
साधारणसभामा नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले त्रिविलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यले कूल विद्यार्थी संख्याको कम्तीमा एक प्रतिशत (करिब चार हजार) विदेशी विद्यार्थी समावेश हुने गरी विशेष कार्ययोजना तयार गर्नुपर्ने प्रस्ताव राखे।
बैठकले त्रिविको शैक्षिक सुधार, अन्तर्राष्ट्रियकरण, नवप्रवर्तन र प्रतिस्पर्धी क्षमताका लागि नीति तथा कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे