
काठमाडौं । काठमाडौँ महानगरपालिकाले निर्माण सम्पन्न गरेका सार्वजनिक पूर्वाधारको दीगो संरक्षण, सञ्चालन तथा व्यवस्थापनका लागि स्पष्ट कार्यविधि आवश्यक रहेको निष्कर्षमा महानगरको अनुगमन समितिले जोड दिएको छ। महानगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलले निर्माण सम्पन्न पूर्वाधारको दीर्घकालीन उपयोग सुनिश्चित गर्न तत्काल कार्यविधि तर्जुमा प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ।
सोमबार निर्माणाधीन महाङ्कालस्थित चौघेरा सत्तल र खुला मञ्चको अनुगमनका क्रममा उपप्रमुख डंगोलले महानगरले हालसम्म उद्यान, पार्क, पोखरी, मठमन्दिर, सत्तल, चोकलगायत सार्वजनिक उपयोगका संरचना निर्माणमा ठूलो लगानी गरेको उल्लेख गर्नुभयो। नागरिकबाट संकलन भएको राजस्व खर्च गरेर निर्माण गरिएका यस्ता संरचनाको संरक्षण र व्यवस्थापनमा स्पष्ट मापदण्ड अभाव देखिएको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, “महानगरले निर्माण गरेका पूर्वाधारहरू केवल निर्माणमै सीमित नहुने गरी दीगो रूपमा सञ्चालन हुनुपर्छ। त्यसका लागि स्वामित्व, संरक्षण, उपयोग र समुदायको सहभागिता सुनिश्चित गर्ने कार्यविधि अपरिहार्य छ।” सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न र नागरिकको अपनत्व बढाउन पनि यस्तो कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
अनुगमनका क्रममा समितिले निर्माण कार्यको प्रगति, गुणस्तर र उपयोगितासँग सम्बन्धित पक्षबारे सरोकारवालासँग छलफलसमेत गरेको छ। महानगरपालिकाले आगामी दिनमा निर्माण सम्पन्न सबै सार्वजनिक पूर्वाधारलाई एउटै मापदण्डभित्र सञ्चालन र व्यवस्थापन गर्ने लक्ष्यका साथ कार्यविधि निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे