
काठमाडौं। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा ‘काठमाडौं महोत्सव २०८२’ आयोजना गर्ने घोषणा गरेको छ। आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रको रूपमा काठमाडौँ उपत्यकाको पहिचानलाई थप सबल बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक संघले जनाएको छ।
महोत्सवमार्फत स्थानीय उत्पादन, कला–संस्कृति, पर्यटन, नवप्रवर्तन, उद्यमशीलता तथा स्टार्टअप क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन गरिनेछ। घरेलु तथा साना उद्योगको बजार विस्तारमा पनि महोत्सव महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।
करिब २०० व्यावसायिक स्टल रहने महोत्सवमा स्थानीय उत्पादन तथा सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध कार्यक्रम, विषयगत झाँकी र पर्यटन प्रवर्द्धनसम्बन्धी गतिविधि समावेश गरिनेछ। आयोजकहरूले महोत्सव अवधिभर १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान गरेका छन्।
नेपालमै उत्पादन भएका कपडा, पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स, हस्तकला, कृषि उत्पादन, फुड एन्ड बेभरेज, सूचना प्रविधि, ट्राभल–टुर सेवा, रियलस्टेट, बैंक तथा वित्तीय संस्थालगायत धेरै क्षेत्रका व्यवसायीहरूको सक्रिय सहभागिता रहने महोत्सवका अध्यक्ष दिनेश श्रेष्ठले बताए।
यद्यपि, महोत्सवको तयारीसँगै पारदर्शिता र व्यवस्थापनका विषयमा केही प्रश्नहरू पनि उठेका छन्। कुल बजेट, खर्च, स्टल शुल्क र स्पोन्सर आम्दानीसम्बन्धी विवरण सार्वजनिक नगरिएकाले शंकाको वातावरण बनेको छ। करिब २०० स्टल वितरणका मापदण्ड स्पष्ट नभएका कारण पहुँच–आधारित प्राथमिकता तथा असमानताको आशंका व्यक्त गरिएको छ। महँगो स्टल शुल्कले साना, घरेलु र रैथाने उद्यमी सहभागी हुन कठिन हुने सम्भावना देखिएको छ।
एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित भए पनि पार्किङ अभाव, भीड व्यवस्थापन, ट्राफिक समन्वय तथा आकस्मिक स्वास्थ्य–सुरक्षा व्यवस्था पर्याप्त नहुन सक्ने जोखिम देखिन्छ। फोहोर व्यवस्थापन, प्लाष्टिक प्रयोग र ध्वनि प्रदूषणबारे पूर्वयोजना कमजोर रहेमा वातावरणीय प्रभाव बढ्ने चिन्ता व्यक्त गरिएको छ। तसेै, महोत्सवले स्थानीय बजार र पर्यटन क्षेत्रमा कति प्रत्यक्ष आर्थिक प्रभाव पार्छ भन्नेबारे विश्वसनीय तथ्यांक अभाव रहने सम्भावनासमेत विश्लेषकहरूले संकेत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे