
एजेन्सी – साउदी अरबको मदीना नजिक भीषण सडक दुर्घटना भएको छ। मक्काबाट मदीना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किँदा कम्तीमा ४२ यात्रुको मृत्यु भएको छ। धेरै मृतक भारतीय नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन्।
बसमा रहेका अधिकांश यात्रु तेलङ्गनाको हैदराबादका थिए। उनीहरू मक्कामा आफ्नो धार्मिक अनुष्ठान पूरा गरेर मदीना फर्कँदै थिए। दुर्घटनाको समयमा धेरै यात्रु सुतिरहेका थिए। बस ठोक्किएपछि आगो लाग्दा उनीहरूले बच्न सक्ने मौका निकै कम थियो। मृतकमा कम्तिमा ११ महिला र १० बालबालिका पनि रहेका छन्।
उद्धार टोलीले बस पूर्ण रूपमा जलेको बताएका छन्, जसले गर्दा मृतकहरूको पहिचान गर्न कठिन भएको छ। हालसम्म एक व्यक्ति, मोहम्मद अब्दुल शोएब, बाँचेको बताइएको छ, तर उनको अवस्था अज्ञात छ।
तेलङ्गना सरकारले रियादस्थित भारतीय दूतावाससँग सम्पर्क राखेको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले नयाँ दिल्लीका अधिकारीहरूलाई दूतावाससँग मिलेर काम गर्न निर्देशन दिएका छन्। साथै, राज्य सरकारले दुर्घटनामा परेका तेलङ्गनाका यात्रुहरूको विवरण सङ्कलन गर्न आवासीय आयुक्त नियुक्त गरेको छ र नियन्त्रण कक्ष स्थापना गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे