
काठमाडौँ, २६ बैशाख । स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीका अनुसार दुई जनाको लडेर मृत्यु भएको हो भने एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या गरेका छन् ।
यही वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट लडेर बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको हो। यस्तै वैशाख ८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका ४० वर्षीय दुर्गासिंह बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो। सोही नगरपालिका ७ स्थित मेलचौरमा प्रशिक्षणमा सहभागी हुने क्रममा चौतारा–नवलपुर सडक खण्डको डिलबाट खसेर मृत्यु भएको हो।
हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका हुन्। यस्तै, सिन्धुपाल्चोककी एक महिलाले विष खाएर आत्महत्या गरेकी हुन्।
वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा एकैपटक हुन लागेको निर्वाचनको सुरक्षाका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। तीमध्ये ४८ जनालाई कारबाहीस्वरूप बर्खास्त गरिएको छ।
उनीहरूले आचरण विपरीतका गतिविधि गरेका कारण केहीलाई बर्खास्त गर्नेदेखि केहीलाई कानूनी कारबाहीका लागि हिरासतमा पनि राखिएको प्रहरीले जनाएको छ। एसएसपी केसीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ सेवन र तोकिएको समयमा उपस्थित नभएका कारण म्यादी प्रहरी कारबाहीमा परेका हुन्।
स्थानीय तह निर्वाचन सुरक्षाको लागी सरकारले ४० दिनको लागी १ लाख म्यादी प्रहरीको छनोट गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे