
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदपूर्तिका लागि जारी प्रक्रियामा विशेष स्वास्थ्य परीक्षण उत्तीर्ण भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।
विज्ञापन नम्बर ०२ (०८१/८२) अनुसार खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने उद्देश्यले सञ्चालित लिखित परीक्षामा सफल भई मिति २०८२ असार ८ गतेदेखि १२ गतेसम्म नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा भएको विशेष स्वास्थ्य परीक्षणमा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण उम्मेदवारहरूलाई सक्षमता परीक्षण तथा अन्तर्वार्तामा सहभागी हुन सूचित गरिएको हो।
सक्षमता परीक्षण (Competency Test : Group Discussion) तथा अन्तर्वार्ता मिति २०८२ साउन ४ गतेदेखि नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँमा सञ्चालन हुनेछ। उम्मेदवारहरूले आफ्नो प्रवेश-पत्र, दरखास्त फाराम, दरखास्त दस्तुर बुझाएको भौचर तथा ORMS प्रणालीमार्फत आवेदन दिँदा पेश गरेका सम्पूर्ण कागजातहरूको सक्कल प्रति र ‘सक्कल बमोजिम नक्कल ठिक छ’ भनी प्रमाणित गरिएको प्रतिलिपिहरू फाइलिङ गरी साथमा ल्याउनुपर्नेछ।
साथै, परीक्षामा सहभागी हुने उम्मेदवारहरू तोकिएको स्थानमा परीक्षा शुरू हुनुभन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ। नेपाल प्रहरीले भर्ना प्रक्रियालाई पारदर्शी, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे