
काठमाडौँ, जेठ २८ – सरकारले मन्त्रिपरिषद्को पछिल्लो बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमार्फत जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो।
बैठकले चीनको सिजाङ (तिब्बत) प्रान्तको ल्हासामा २०८२ असार २ गतेदेखि ६ गतेसम्म हुने नेपाल–चीन व्यापार सहजीकरण समितिको १३ औँ बैठकका एजेन्डा स्वीकृत गरेको छ। उक्त बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको छ।
त्यस्तै, निर्माण व्यवसायीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिने नयाँ विधेयकका लागि सिद्धान्त स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यो विधेयक निर्माण क्षेत्रलाई व्यवस्थित गर्न महत्त्वपूर्ण हुने जनाइएको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले विभिन्न ११ वटा निर्णयहरू पारित गरेको छ। तीमध्ये केही निर्णयहरू आन्तरिक प्रशासन, कानुनी सुधार तथा अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित छन्। सरकारले यस्ता निर्णयहरू समयमै सार्वजनिक गर्दै जानु पारदर्शिता र जनउत्तरदायित्वका दृष्टिकोणले सकारात्मक पहल भएको टिप्पणी गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे