काठमाडौं, भदौ २४।हिजोदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा जारी विरोध प्रदर्शनहरूका क्रममा ठूलो जनधनको क्षति भएपछि सुरक्षानिकायका उच्च पदाधिकारीहरूले संयमता र शान्तिका लागि संयुक्त अपिल जारी गरेका छन्।
प्रधान सेनापति अशोक राज सिग्देल, गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुवेर खापुङ, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त रूपमा जारी गरेको अपिलमा भनिएको छ:
“विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब हिंसात्मक घटनाबाट टाढा रहन सबै नागरिकलाई आग्रह गरिएको छ। अपिलमा भनिएको छ,
“यस विषम परिस्थितिमा थप जनधनको क्षति रोक्न हामी सम्पूर्ण नागरिकलाई संयमित र शान्त रहन हार्दिक अनुरोध गर्दछौं।”
साथै, सम्बद्ध राजनीतिक दल तथा सरोकारवालालाई वार्तामार्फत समस्या समाधान गर्ने दिशामा तत्काल पहल गर्न अपिल गरिएको छ।
“राजनीतिक संवाद नै दीर्घकालीन समाधानको आधार हो,” अपिलमा उल्लेख गरिएको छ।
यो अपिल अहिले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसले प्रदर्शनलाई शान्तिपूर्ण मोडमा लैजान सहयोग पुर्याउने विश्वास गरिएको छ।









