
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा बस्ने तयारी गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभागका अनुसार भवनको सम्पूर्ण काम अझै सम्पन्न नभए पनि प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार पार्ने काम तीव्र गतिमा अघि बढाइएको छ।
यसअघि संसद् बैठक नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै आएको थियो। तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट उक्त भवनमा ठूलो क्षति पुगेपछि अहिले नयाँ संसद् भवनमा बैठक राख्ने तयारी गरिएको हो।
सिंहदरबार परिसरमा निर्माण भइरहेको संसद् भवन आयोजनाको हालसम्म समग्र भौतिक प्रगति करिब ९३ प्रतिशत पुगेको छ भने आर्थिक प्रगति करिब ७८ प्रतिशत रहेको जनाइएको छ।
करिब ५ अर्ब ३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको भवनको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेकले संयुक्त रूपमा लिएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते भवनको शिलान्यास गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे