
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले देशका दुई प्रमुख विकास परियोजनाका लागि विदेशी सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ। बैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट र दिगो तथा समावेशी वित्त परियोजनाका लागि क्रमशः ९० मिलियन र ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण लिन स्वीकृति प्रदान गरेको हो।
अर्थ मन्त्रालयको सिफारिसअनुसार डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी कुल ९० मिलियन डलर ऋण लिने निर्णय भएको छ। उक्त ऋण सहुलियतपूर्ण हुने र प्रोजेक्टको सफल कार्यान्वयनमा उपयोग हुने बताइएको छ।
त्यसै गरी दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट थप ९५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरिएको छ। यस परियोजनाले वित्तीय समावेशिता बढाउने र विकासलाई दिगो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सरकारका अनुसार, यी ऋण स्रोतहरू राष्ट्रिय बजेटमा दबाब नपर्ने किसिमका सहुलियतपूर्ण ऋण हुन् र सामाजिक तथा आर्थिक विकासका लागि प्रयोग हुनेछन्। परियोजना कार्यान्वयनपछि आधुनिक प्रविधि र समावेशी वित्तीय पहुँच सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
अर्थ मन्त्रालयले मन्त्रालयको निगरानीमा परियोजनाको प्रभावकारी कार्यान्वयन र ऋण उपयोगमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता पनि जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे