
काठमाडौँ । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा ३२ वर्षीया सुनीता कार्कीले खाना विष मिसाएर खुवाएको घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका ७० वर्षीय श्रीमान् भक्तबहादुर राई गम्भीर रूपमा बिरामी परेका छन्। भक्तबहादुरको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भइरहेको छ।
स्थानीयले शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकै खोल्सामा बेहोस अवस्थामा फेला पारी उद्धार गरेका थिए। घरमा श्रीमती इन्द्रमाया पनि बेहोस भेटिएकी थिइन्। दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारको क्रममा इन्द्रमायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको छ।
प्रारम्भिक अनुसन्धानमा खानामा विष मिसाइएको खुलेको छ। घटनास्थलमा तीन वटा कुखुरासमेत मृत फेला परेपछि स्थानीयले विष प्रयोग भएको अनुमान गरेका थिए। सुनीता कार्की पक्राउ परेपछि उनले विष मिसाएको र बट्टा जलेको बताएकी छिन्। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पारिवारिक कलह कारण हुन सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे