
काठमाडौं । गायक शिव परियारले जेनजी आन्दोलनबारे बनेको जाँच आयोगको प्रतिवेदनमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिँदै आफूलाई “भ्रामक सूचना फैलाउने व्यक्ति” भनेर उल्लेख गरिएको कुरा गलत भएको बताएका छन्। उनका अनुसार, भदौ २४ गते सामाजिक सञ्जालमा “३२ जना संसद भवनभित्र मृत भेटिए” भन्ने खबर देखेपछि उनले केवल त्यो कुरा साँचो हो कि होइन भनेर प्रश्न मात्रै गरेका थिए।
उनले त्यो पोस्ट कुनै पुष्टि वा अफवाह फैलाउने उद्देश्यले नभई सत्य जानकारी पाउनका लागि राखिएको स्पष्ट पारे। पछि उक्त खबर गलत भएको थाहा पाएपछि उनले पोस्ट हटाएका थिए।
तर केही मिडिया र सामाजिक सञ्जालले उनको पोस्टलाई गलत रूपमा प्रस्तुत गर्दै उनलाई अफवाह फैलाउने व्यक्ति भनेर समाचार बनाएको उनले बताएका छन्। यही आधारमा गौरी बहादुर कार्की आयोगको प्रतिवेदनमा पनि उनको नाम राखिएकोमा उनले दुःख व्यक्त गरेका छन्।
परियारले यसले आफ्नो प्रतिष्ठामा असर परेको भन्दै सरकारसँग पुनर्विचार गर्न आग्रह गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे