
काठमाडौँ, ६ कार्तिक । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुलेको छ ।
हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरुको बिहानैदेखि भिड लागेको छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।
तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ । तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइने परम्परा छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले बुधबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको हो
त्यस्तै, अन्य शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ । नवरात्रको अन्तिम दिन आज दुर्गा भवानीको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे