
एजेन्सी । मध्यपूर्व क्षेत्रमा इजरायल, अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता देखिन थालेको छ। पछिल्ला घटनाक्रमसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। विश्वका प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने होर्मुज जलडमरू क्षेत्रमा तेल र ग्यास आपूर्तिमा अवरोध आउने आशंकाले विश्व बजारमा कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च स्तरमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यता पहिलो पटक प्रतिब्यारल एक सय अमेरिकी डलर नाघेको छ। इरानमाथि हालै भएका हवाई आक्रमण र तेल भण्डारण केन्द्रहरूलाई लक्षित आक्रमणपछि ऊर्जा आपूर्ति अस्थिर हुने चिन्ता बढ्दै जाँदा मूल्य तीव्र रूपमा उकालो लागेको हो।
एशियाली बजार खुल्नेबित्तिकै प्रमुख कच्चा तेल सूचकहरूको मूल्य उल्लेख्य दरले बढेको जनाइएको छ। केही घण्टामै कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारल एक सय सात डलरभन्दा माथि पुगेको छ भने अर्को प्रमुख सूचकको मूल्य पनि करिब १७ प्रतिशतले वृद्धि भएको छ।
विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरू क्षेत्रमा निरन्तर अवरोध उत्पन्न भए विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय पचास डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यसले इन्धन मूल्यवृद्धि मार्फत विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने सम्भावना रहेको छ।
ऊर्जा मूल्य वृद्धिको प्रत्यक्ष असर हवाई यातायात, उत्पादन लागत तथा उपभोक्ता खर्चमा पर्ने विश्लेषण गरिएको छ। साथै ऊर्जा संकटको चिन्ताका कारण एशिया–प्रशान्त क्षेत्रका सेयर बजारमा पनि गिरावट देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे