
काठमाडौँ । बंगलादेशमा बुधबारदेखि आम निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७:३० बजे सुरु भएको मतदान साँझ ४:३० बजेसम्म चल्नेछ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनेर सरकारले चार दिनको राष्ट्रिय बिदा पनि दिएको छ। बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् ।
प्रमुख निर्वाचन आयुक्त ए.एम.एम. नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै सबै राजनीतिक दललाई हिंसा नगरी चुनावको नतिजा स्वीकार गर्न अपिल गरेका छन्। तर, मतदानकै दिन देशका विभिन्न स्थानबाट जमात–ए–इस्लामीका कार्यकर्ताहरू ठूलो मात्रामा नगदसहित पक्राउ परेको खबर आएको छ। यसअघि उत्तर बंगलादेशमा एक जमात नेतालाई करिब ७४ लाख टाकासहित पक्राउ गरिएको थियो।
ठूला नेताहरूले पनि मतदान गरेका छन्। बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीरले ठाकुरगाउँमा मतदान गरे। बीएनपी अध्यक्ष तारिक रहमान ढाकाको गुलशन क्षेत्रबाट चुनाव लडिरहेका छन् भने जमात–ए–इस्लामीका प्रमुख नेता डा. शफीकुर रहमान मिरपुर क्षेत्रबाट उम्मेदवार छन्। ढाका–८ क्षेत्रमा बीएनपी र जमात समर्थित उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
यसअघि जनवरी २०२४ मा भएको चुनाव बीएनपीले बहिष्कार गरेको थियो। त्यसपछि बनेको अवामी लिग सरकार २०२४ कै आन्दोलनपछि हटाइएको थियो। अहिले अवामी लिग प्रतिबन्धित भएकाले चुनावमा सहभागी छैन, तर पार्टीको गढ गोपालगंजमा हिंसात्मक घटना भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे